Tuesday, October 25, 2011

प्रदूषणमुक्त सुरक्षित दीपावली र छठ


दीपावली र छठ मनाउने क्रममा पड्काइने आतेसबाजी र पटकाले वर्षेनि थुप्रैमा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने लगायतका समस्या आइपर्छन् ।
कतिपय बेला त सामान्य पटकाले समेत ज्यान समेत लिने गरेको छ । त्यसैले पटका पड्काउनै परे पनि सावधानीपूर्वक पड्काऔं । नत्र क्षणभरको रमाइलो जीवनभरका लागि पीडा नहोला भन्न सकिन्न । दीपावलीमा आनन्द उठाउनुस् तर विचार पुर्‍याएर । बम, पटका आतेसबाजी, फुलझडी आदि चलाउँदा विशेष ध्यान दिनुस् ।
युनिसेफका अनुसार विश्वमा वर्षेनि करिब साढे सात लाख व्यक्तिको डढेर मृत्यु हुने गरेको छ । त्यस्तो घटनाका लागि पटका मुख्य रूपमा जिम्मेवार रहेको छ ।
चिकित्सकहरूका अनुसार आतेसबाजी र पटकाले आगजनी मात्र हुँदैन बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप, दम, नाकको एलर्जी, ब्रोकाइटिस, निमोनिया, कानको जाली च्यातिने, टाउको दुख्ने र अनिद्रा लगायत हुन सक्छ ।
'पटकामा एउटा आवाजको प्रभाव र अर्को पड्काइ (ब्लास्ट) को प्रभाव हुन्छ,' त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका नाक, कान र घाँटी विभागका प्रमुख प्रा.डा.राकेशप्रसाद श्रीवास्तव भन्छन्, 'तिखो आवाजका कारणले कानको भित्री नसा कमजोर हुन सक्छ भने पड्काइको प्रभावले कानको जाली पनि फुट्न सक्छ ।'
'अझ नसामा देखिने प्रभावको त कुनै उपचार समेत छैन,' प्रा.डा. श्रीवास्तव भन्छन्, 'जालीमा प्रभाव परेको छ भने कहिलेकाहीँ आफंै वा शल्यक्रिया गर्दा निको हुन सक्छ ।'

Wednesday, October 19, 2011

हिमाली क्षेत्र सौर्य ऊर्जा भण्डार

ऊर्जा क्षेत्रमा नेपालको पहिचान अब 'जलस्रोतमा धनी' देशका रूपमा मात्र सीमित हुने छैन। एक जापानी संस्थाको अध्ययनअनुसार नेपाल सौर्य ऊर्जा उत्पादनमा पनि संसारकै उत्कृष्ट क्षेत्र हो।
जापानको 'नेसनल इन्स्टिच्युट फर एड्भान्स इन्डस्ट्रियल साइन्स एन्ड टेक्नोलोजी'ले हालै सार्वजनिक गरेको अध्ययनमा सगरमाथासहित नेपालको हिमाली क्षेत्रलाई सौर्य ऊर्जा उत्पादनमा संसारकै उत्कृष्ट भनिएको छ।

हिमाली क्षेत्रको पातलो वायुमण्डल र भिरालो भूभागका कारण सूर्यको प्रकाश बढी प्राप्त गर्न सकिने हुँदा सौर्य ऊर्जा बढी उत्पादन हुने अध्ययनको निष्कर्ष छ। चिसो मौसमले पनि सौर्य ऊर्जालाई चाहिने 'फोटोभोल्टाइन सोलर सेल' हिमाली क्षेत्रमा बढी सक्रिय हुने प्रतिवेदनमा औंल्याइएको छ।
यसअघि तातो मरुभूमि भएको क्षेत्र सौर्य ऊर्जाको निम्ति उपयुक्त मानिन्थ्यो। अमेरिकाको दक्षिण-पश्चिममा पर्ने एरिजोना मरुभूमि प्राथमिकतामा थियो। भारतमा पनि प्रायः सौर्य ऊर्जा प्लान्ट राजस्थानका मरुभूमिमा छन्।

Friday, October 7, 2011